फुटबलर विमल घर्तिमगरको घुँडाको शल्यक्रिया गरिएको छ। कतारको राजधानी दोहामा मंगलबार गरिएको शल्यक्रिया भएको छ। राष्ट्रिय फुटबल टिमको प्रशिक्षणको दौरान विमलको घुँडामा चोट लागेको थियो। एक वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलको अभ्यासका क्रममा चोट लाग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो।
गत महिना विमलसँगै राष्ट्रिय टिमका मिडफिल्डर विक्रम लामा पनि उपचारका लागि कतार गएका थिए। विक्रमको गत माघ २१ गते शल्यक्रिया गरिएको थियो। उनी पनि अभ्यासको क्रममा घाइते भएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा दुवै खेलाडी उपचारका लागि कतार गएका थिए।
एन्फाले दुवै खेलाडीको उपचारमा सहयोग गर्न गरेको आग्रहलाई कतार फुटबल एसोसिएसनले स्विकार गरेको थियो। लामा र घर्तिमगर दुवै नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्यको रुपमा रहँदै आएका थिए।
अब नेपालले विश्वकप छनोटका खेल खेल्दा दुवैले ती महत्वपूर्ण खेल गुमाउनेछन्। शल्यक्रियापछि विमलले नयाँ जीवनको सुरुवात गर्ने बताएका छन्।
'सायद आज मैले गरेको गल्तीको सजाय पाउँदैछु। प्रतिस्पर्धाको समयमा म केही समयको लागि अड्किएको छु। तर हिम्मत हारेको छैन मैले नयाँ खेल जीवनको सुरुवात गर्नेछु। जुन माया विश्वास र साथ पाएको थिए, त्यो फेरी पाउँनेछु,' विमलले फेसबुकमा लेखेका छन्।
'बाटो सजिलो छैन तर अगाडि बढ्नेछु। मेरो चोटलाई मलम लगाई दिनुहुने सबैलाई धन्यवाद दिन चाहान्छु। विशेष गरी एन्फा (अखिल नेपाल फुटबल संघ) लाई यो समयमा मलाई सहयोग गरिदिनु भएकोमा आभारी छु।' यो समाचार सेतोपाटीबाट साभार गरिएको हो।