नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्दै ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताएका छन्।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाए।
‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’
प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गरे। ओलीले २०६२/०६३ पछि त्यति लामो समयसम्म सरकारमा माओवादी जति अरु कोही नबसेको दाबी गरे।
‘लामो समयदेखि प्रचण्ड लगातार सरकारमा छन्। यति निरन्तर ढंगले सायद २०६२/६३ को आन्दोलन भन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्ता पक्ष भईराखेको छैन होला। जता जोसँग मिलेर भएपनि सत्तामा हुने’, उनले भने, ‘एउटा प्रवृत्ति के देखिन्छ भने विरालो किन्नु पर्दैन। दुध र भात कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ। कसले कचौरामा कति दुध भात दिन्छ, त्यस अनुसार फुत्रुक छिमेकीका घरतिर सर्ने। त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्नु यो शिलशिला जारी छ।’
आफू ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ नगरेको जिकिर गरे।
‘हामी सरकारमा कहिल्यै पनि हुँदैनौं भन्ने होइन। मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिनँ। जसको पदनै सर्वोपरी छ उसले ठूलो कचौंरामा दुध र भात पाएपछि विरालो छिमेकी कहाँ जानु अनौठो होइन,’ उनले भने।
उनले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाए। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताए। प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताए।
‘परिवारका मान्छे धनी नै भएका होलान्। भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान्। भाइ भतिजा पनि राम्रै ठाउँमा पुगेका होलान्। छोरी–ज्वाई पनि राम्रै ठाउँमा पुगेका होलान्। तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन? सहिदका परिवार सम्झनु भएको छ कि छैन? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ,?’ उनले भने।
उनले प्रधानमन्त्री प्रचण्डलाई काम र कुरा बेग्ला-बेग्लै गर्ने व्यक्ति भएको दाबी गरे।
‘जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं । देशको समय मात्रै बर्बाद नगरौं। आफ्ना स्वार्थमा केन्द्रित हुने होइन । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं भनेर यो प्रयास गरियो। तर पुष्पकमल दाहालजीको बेग्लै। उहाँ बोल्नु हुन्छ एउटा काम अर्कै गर्नुहुन्छ। हेर्नु देब्रेपटि हुन्छ, निशाना दाहिनेपटि हुन्छ’, उनले भने।
उनले आफूलाई पनि झुक्याउन खोजेको तर प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी थियो।
‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘ मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’
प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताए।
‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’