सप्तरीमा करेन्ट लागेर हात्ती मरेको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मरेका छन् । ।
पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मरेको थियो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्ती मरेको प्रहरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।
विद्युतीय धरापमा परी मरेको जानकारी वन डिभिजन कार्यालयलाई गराइसकिएको साहले बताए । ‘बाँकी अनुसन्धान वन कार्यालयले नै गर्छ,’ उनले भने ।
दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।
सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्ती करेन्ट लागेर मरेको थियो । नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो ।