नवलपुर : गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वी सुव्वा गुरुङ्गले पार्टी भित्र अहिले देखिएको विवाद बैचारिक विवाद नभएको बताएका छन् । उनले अहिलेको विवाद शक्ती र पदका लागि भएको बताए ।
प्रेस संगठन नेपाल नवलपुर शाखाले शनिवार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले भने,“ प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न भन्न हुादैन , यो अबैधानिक हुन्छ । ” उनले ओली निर्वाचित अध्यक्ष भएकाले महाधिवेशनले मात्र उनलाइ हटाउन सक्ने बताए । “अहिलेको अबस्थामा हाम्रो पार्टी भित्र दुई अध्यक्ष छन् , दुबैलाइ महात्रिवेशन अघि छोड भन्न मिल्दैन ।” उनले प्रचण्ड र ओली दुबै निर्वाचित अध्यक्ष भएकाले अरु कुनै पनि तरिकाबाट हटाउन नमिल्ने बताए ।
पार्टी एकता कायम रहन पर्छ भन्ने पक्षमा निरन्तर पैरवी गर्दै आएका मुख्यमन्त्री गुरुङ्गले छिटो भन्दा छिटो एकता महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने,“विवाद समाधानको एउटै विकल्प भनेको महाधिवेशन नैं हो , छिटो महाधिवेशन गरेर समाधान खोज्नु पर्छ ।” उनले उपाध्यक्ष वामदेव गौंतमले विवाद समाधानका लागि राखेको प्रस्तावमा आफु पुर्ण रुपमा सहमत रहेको बताए । उनले भने,“अहिले प्रधानमन्त्रीलाइ हट्न पर्छ भन्नु नाजायज कुरा हो , ५ बर्षका लािग म्याण्डेट पाएको सरकारलाइ बिचैमा हटाउँदा जनतामा राम्रो सन्देश जाँदैन ।”
मुख्यमन्त्री गुरुङ्गले पद र शक्तीका लागि पार्टी भित्र विवाद गर्दा त्यसले पार्टीलाई कमजोर बनाउने बताए । उनले भने,“जनताले पाँच बर्ष काम गर भनेर पठाएका हुन् , बिचमा हटाउँदा जनता निराश हुन्छन् , अर्को चुनावमा विश्वास गर्दैनन् ।” उनले ओलीले पद छाड्न पर्छ भनने पक्षमा आफु नरहेको बताए ।
संघ र प्रदेश बिच समझदारी बढेको छ
मुख्यमन्त्री गुरुङ्गले संघिय सरकार र प्रदेश सरकार बिच असमझदारी हट्दैं गएको बताए । उनले अहिले संबिधानमा उल्लेख भएको धेरै अधिकार प्रदेश सरकारले उपयोग गरिरहेको बताए । उनले भने,“ केहि समस्या अझै पनि छन् , तर धेरै कुरा हल भईसकेको छ । हामी निरन्तर त्यो बिषयमा लविङ्ग गरिरहेका छौं ।” उनले संघ सरकारले अझै पनि धेरै कुरामा सहजीकरण गर्न आवश्यक रहेको बताए । संघियता कार्यान्वयन बिस्तारै सहज हुँदै गएको उनको भनाइ थियो ।
नवलपुर सधै प्रदेश सरकारको प्राथमिकतामा पर्छ
मुख्यमन्त्री गुरुङ्गले नवलपुर जिल्ला गण्डकी प्रदेशका लागि अत्यन्त महत्वपुर्ण जिल्ला भएको बताए । नवलपुर संग भारतिय नाका जोडिएकाले पनि यसको आफ्नै महत्व भएको उनको भनाई थियो । उनले दुम्कीवास त्रिवेणी सडक निर्माणका लागि निकुन्जले अबरोध गरेको भन्दै त्यसका लागि आफुले निरन्तर पहल गरिरहेको बताए ।
उनले दुम्किबास भिमाद पोखरा सडक निर्माण कार्य भईरहेको भन्दै त्यसको निर्माण कार्य सम्पन्न भएपछि धेरै कुरामा सहज हुने बताए । एकिकृत सदरमुकाम निर्माणका लागि बजेट विनियोजन भएको भन्दै त्यसको निर्माण कार्य अब तत्काल सुरु हुने उनले बताए । “नवलपुरलाइृ हामीले पक्षपात गरेका छैनौं, कामहरु हुँदै छ , विस्तारै सबै काम हुन्छ ।” गुरुङ्गले भने ।
नारायणी नदिले गरेको नदि कटानको अबलोकन गर्न तथा पार्टी प्रदेश कमिटि सदस्य कुल चन्द्र महतोको शोकसभामा सहभागी हुन मुख्यमन्त्री गुरुङ्ग नवलपुर आएका हुन् ।