पोखराबाट नक्कली सहायक सेनानी पक्राउ परेका छन् । नक्कली कागजात बनाएर आफूलाई नेपाली सेनाको सहायक सेनानी भएको बताउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली कागजात बनाएर निर्माणाधीन विमानस्थल प्रवेश गर्ने मुस्ताङको थासाङ गाउँपालिका ४ बस्ने १८ वर्षिय तेञ्जिङ गुरुङ भनिने विपिन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
नेपाली सेनाको सहायक सेनानी बताएर परिचयपत्र सहित विमानस्थलको प्रवेशद्वारबाट प्रवेश गरेका विकले शंकास्पद व्यवहार गर्न थालेपछि त्यहाँ खटिएको टोलीले चेकजाँच गर्दा नक्कली सहायक सेनानी भएको पत्ता लगाएपछि उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।
विकलाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न पोशाक, बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र १ थान र नक्कली वाकीटकी रेडियो सेट १ थान सहित नियन्त्रणमा लिइएको प्रवक्ता हमालले बताए ।
प्रहरीले अदालतबाट म्याद थप गरी उनलाई लिखत सम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको जनाएको छ। यो समाचार रातोपाटीबाट साभार गरिएको हो।