कावासोती : नवलपुरको मध्यबिन्दु नगर अस्पतालमा प्रयोगशालाको काम विना टेन्डर निजि ल्यावलाई दिएर कमिसन लिने गरेको खुलासा भएको छ । यस्तो कमिसन बिरामीले तिर्ने शुल्कको ६० प्रतिशत हुने गरेको अस्पताल स्रोतले जानकारी दियो ।
अस्पतालले नगर अस्पतालमा थाईराईड लगायतका परिक्षण गर्न आएका बिरामीको नमुना कावासोतीमा रहेको मेगा ल्याव प्रालिमा पठाउने गरेको हो । स्वास्थ्य बिमा बोर्ड बाट बिमित भएकाहरुको नमुना यसरी निजि ल्यावमा पठाउने गरिएको हो । सरकारी अस्पतालले यसरी बाहिर नमुना परिक्षण गराउन पठाउँदा अनिवार्य रुपमा टेन्डर आव्हान गर्नु पर्ने भएपनी निजि ल्याबलाई एकलौटी रुपमा परिक्षणका लागि नमुना पठाउने गरेको हो ।
मध्यबिन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले टेण्डर आव्हान नगरिकन काम गरेको स्विकार गरें । उनले भने , " अस्पतालका साथिहरुले मलाई सोध्नु भएको थियो , मैलेनै मेगा ल्यावलाई दिनु भनेको हो ।" उनले टेन्डर आव्हान गर्नुपर्ने बिषयमा आफुहरु जानकार नरहेको बताए । उनले भने, " प्राबिधिक त्रुटी हुन सक्छ , त्यस्तो भएको भए हामी सच्याउँछौं । "
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नन्दलाल रानामगरले पनि सत्यकलम संगको कुराकानीमा आफुहरुले बिना टेण्डर काम गरेको स्विकार गरे । उनले भने, " टेन्डर भएको छैन ,समितिको निर्णय बमोजिम मेगा ल्याब संग सम्झौता भएको हो ।" रानामगरले दशलाख भन्दा मुनिको काम गर्दा टेन्डर आव्हान गर्नु नपर्ने भन्ने ठानेर टेन्डर आव्हान नगरिएको सत्यकलम लाई बताए ।
उनले यस्तो दावि गरेपनी अस्पताल स्रोतबाट सत्यकलमलाई प्राप्त सुचना अनुसार सो परिक्षण गर्दा बार्षिक ३० लाख भन्दा बढीको कारोवार हुने देखिन्छ । नाम नखुलाउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताएअनुसार हप्ताको सरदर ७० वटा नमुना निजि ल्यावलाई पठाउने गरिन्छ । अस्पतालले प्रती नमुना परिक्षणको रु ९ सय बिरामीसंग बिमा बापतको शुल्क लिने गर्दछ ।
सार्बजनिक खरिद एन २०६३ को दफा २७ को उपदफा २ बमोजिम सरकारी तथा सार्बजनिक निकायहरुले अनिवार्य रुपमा टेन्डर आव्हान गर्नु पर्ने भएपनी अस्पतालले नियम मिचेर आफुखुशी निजि ल्यावलाई प्रयोगशालाको काम दिएको हो ।
यसरी बिना टेन्डर काम गर्न दिनु को पछाडी कमिसनको चक्कर रहेको अस्पतालमा कार्यरत कर्मचारीनै बताउँछन् । सत्यकलमको सम्पर्कमा आएका ती कर्मचारीले भने, " कमिसनको चक्कर हुन्छ ,प्रशाशन , डाक्टर देखि समन्धित अन्यले कमिसन पाउँछन् । प्राप्त सुचना अनुसार बिरामीले तिरेको रु ९ सय शुल्क मध्य ६० प्रतिशत त कमिसन नै जान्छ । बाँकी रकम परिक्षण गर्ने प्रयोगशालाले पाउने गरेको ती कर्मचारीले बताए ।
अस्पताका मेसु रानामगरलाई यस बारेमा जिज्ञासा राख्दा उनले समितिको निर्णय अनुसार आफुहरुले बिना टेण्डर निजि ल्यावमा दिएको र यसबारेमा थप छलफल गर्न बाँकी रहेको बताए। कमिसनको बारेमा उनी खुल्न चाहेनन् । समितिको निर्णय भएको भन्दै आफू अन्य बिषयमा जानकार नरहेको उनले बताए ।
तर मेगा ल्याब प्रालिका अध्यक्ष सुरेश कुमार थापाले भने घुमाउरो शैलिमा आफुहरुले अस्पताल डाक्टर र कर्मचारीहरुलाई कमिसन दिने गरेको स्विकार गरें । उनले भने ," लिखित रुपमा एकखालको सम्झौता भएपनी भर्बल्ली ( मौखिक ) रुपमा छुट ( कमिसन ) दिने कुरा भएको हो । "त्यो अनुसार हामी दिन्छौं " । उनले भनें । उनले काम गर्दा कतिपय कुरालाई ब्यबहारिक रुपमा हेर्नू पर्ने बताए । उनले भने , " सरकारी काम गर्दा कतिपय कुरालाई बुझ्नु पर्ने रहेछ । " उनले आफुहरुले बिरामी को नाममा कुनै रसिद जारी नगर्ने भन्दै अस्पतालबाट एक मुष्ठ शुल्क बुझ्ने बताए । " प्रती बिरामी कति शुल्क दिन्छ्न् , कति कमिसन बुझाउनु पर्छ तीन महिनमा पेमेन्ट पाएपछी थाहा हुन्छ । " उनले भने ।