प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि चीन भ्रमण गर्न लागेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्ने बताइएको छ ।
त्यसपछि दिउँसो साढे १२ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पहिलो भेट हुने छ । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डले ८ असोजमा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले दिवाभोज आयोजना गर्दै छन् । नेपाल र चीनबीच सीमापार विद्युतीय प्रसारणलाइन निर्माण, जलविद्युत् निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले समकक्षीहरूसँग भेट गरिसकेपछि नेसनल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेइजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेइजिङमै प्रधानमन्त्री प्रचण्डले नेपाली र चिनियाँ उद्योगी–व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ जसलाई नेपाल–चीन लगानी सम्मेलन भनिएको छ । प्रधानमन्त्रीको भ्रमण टोली ९० सदस्यीय हुने छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा परिषद्का सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सहभागी हुनेछन् । भ्रमण दलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, अर्थ मन्त्रालका अधिकारी तथा उद्योगी–व्यवसायी सहभागी हुनेछन् । न्युयोर्कबाट परराष्ट्रमन्त्री साउद, परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली हाङझाउ पुग्नेछ ।