पछिल्लो केहीदिनयता नेपालमा डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो आठ महिनाको अवधिमा देशभर डेंगु संक्रमितको संख्या १७ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ । जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ ।
ईडीसीडीका अनुसार हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ । हासम्म सबैभन्दा धेरै सुनसरी जिल्लामा ९ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङमा १ हजार ९४९, धादिङमा १ हजार ९४१, झापामा ९५४, काठमाडौँमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ ।
सरकारले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।