कावासोती : गैडाकोटमा रहेको अक्सफोर्ड कलेजमा बिहिबार वडा कार्यालयले अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेजमा संचालित क्यान्टिनमा अखाद्य बस्तु प्रयोग गर्ने गरेको पाईएको गैंडाको २ का वडा अध्यक्ष प्रकाश सापकोटाले बताए ।
वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको टोलीले कलेजका बिभिन्न पक्षहरुको अनुगमन गरेको थियो । “कलेजमा संचालित क्यान्टिनमा केहि खान योग्य नरहेका बस्तुहरु प्रयोग गरेको भेटियो । केहि सड्न लागेका बस्तुहरु पनि प्रयोग ल्याउने गरेको पायौं ।” वडा अध्यक्ष सापकोटाले सत्यकलमलाई बताए । उनले कलेजमा रहेका शौचालय समेत प्रयोग योग्य नरहेको , नष्ट गर्नुपर्ने सामाग्रीहरु यत्तीकै राखेको र फोहर व्यवस्थापनमा निकै कमजोरी रहेको आफुहरुले पाएको बताए । उनले भने,“ कमजोरी धेरै भेटिएको छ , हामीले चेतावनी दिएर आएका छौं ।”
अनुगमनमा सहभागी गैंडाकोट नगरपालिका शिक्षा शाखाका अधिकृत हेमचन्द्र पौडेलले पनि क्यान्टिन संचालनमा केहि कमजोरी रहेको देखिएको बताए । उनले त्यस्ता कमजोरीलाई सुधार्न आफुहरुले प्रारम्भिक चेतावनी दिएको बताए । प्लाष्टिकका भाँडामा राखिएका अचार लगायतका सड्ने बस्तुहरु प्रयोग गर्ने गरेको पाईयो, अन्य केहि कमजोरी पनि छन् , त्यसलाई सुधार गर्नुपर्छ ।” पौडेलले भने । पौडेलले बसका सिटहरु बिद्यार्थी बस्न योग्य नरहेकाले तत्काल त्यसलाई सुधार गर्न आफुहरुले भनेको सत्यकलमलाई बताए ।
वडा अध्यक्ष सापकोटाले पहिलो चरणमा गरिएको अनुगमन भएकाले भएका कमजोरीलाई तत्काल सुधार गर्न चेतावनी दिएर आएको बताए । उनले भने,“ सुधार गर्न भनेका छौं , फेरी अर्को पटक अनुगमनमा जाँदा आज देखिएका कमजोरी सुधार्नु होला भनेर आएका छौं । आशा छ सुधार होला ।” सापकोटाकोटाले भने ।
अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले भने अनुगमन टोलीले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । उनले भने,“ हचुवाको भरमा अनुगमन भएको छ , ति आरोपहरुमा सत्यता छैन ।” भण्डारीले अनुगमनमा आउँदा बिषय बिषेषज्ञ सहितको टोली आउनुपर्नेमा त्यसो हुन नसकेको बताए । “क्यान्टिनको अनुगमन गर्दा खाद्य बिषेषज्ञ चाहिन्छकी चाहिँदैन , सुँघेको भरमा सडेको या अखाद्य बस्तु भन्न पाईन्छ ? उहाँहरु संग बिषेषज्ञहरु थिएनन् , त्यसै आरोप लगाईयो ।” भण्डारीले भने ।
बिषय बिषेषज्ञ सहितको टोलीले अनुगमन गरेर प्रमाणित गरे आफुहरु कारवाही भोग्न तयार रहेको भण्डारीको भनाई थियो । “अनुगमनमा आउनुभयो , न बिषेषज्ञता छ , न बिषेषज्ञ छ त्यसै यस्तो र उस्तो भनेर प्रचार गर्न मिल्दैन ।” भण्डारीले भने ।
नगरपालिकाले सुरुवात गरेको अनुगमनको काम निकै राम्रो भएको भन्दै यसलाई सघाउन आफुहरु तयार रहेको भण्डारीको भनाई थियो । “ सुरुवात भएको छ राम्रो हो , तर नगरका सबै बिद्यालय र कलेजमा गरौं , प्रक्रिया पुर्याएर बिषेषज्ञहरु सहित गर्नु पर्यो ।” भण्डारी को भनाई छ ।
वडा अध्यक्ष सापकोटाले अन्य स्थानमा पनि क्रमै संग अनुगमन गरिने बताए । बिहिबार गरिएको अनुगमनमा वडा अध्यक्ष सापकोटा सहित नगरपालिकाका शिक्षा शाखाका अधिकृत , प्रहरी , जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।




