रुकुम - पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको छ । थपिएका नयाँ मतदाता जसले यसपालिको चुनावमा भोट खसाल्न लागेका छन्, उनीहरुमा सही मतदान प्रकृयाबारे अन्योल देखिएको हो । चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले घरदैलो अर्थात् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरु अलमलमै रहेको गुनासो गरेका छन् । सही मतदान प्रक्रियाबारे अहिलेसम्म जानकारी नपाएको उनीहरुको भनाइ छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की बिन्दु ओलीले पहिलो पटक भोट खसाल्न लागेको तर कसरी सही मतदान गर्ने अहिलेसम्म जानकारी नपाएको बताउनुभयो।
निर्वाचन कार्यालय, दल तथा उम्मेदवार र पालिकाबाट खटाएको भनिएका स्वास्थ्य स्वयम्सेविकाबाट कुनै जानकारी नपाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘पहिलो पटक मतदान गर्न उत्सुक छु, तर छाप लगाउने, मतपत्र पट्याउने र बदर नहोस् भनेर सिक्न पाएकी छैन ।’
रुकुम पश्चिममा मात्रै १ हजार २ सय ६० जना नयाँ मतदाता रहेका छन् । बाँफिकोट गाउँपालिका–९ झुला गाउँकी १८ वर्षीया तुलसा खनालले पनि आफूले सही मतदाता शिक्षा नपाएको बताउनुभयो । मत बिग्रने डर रहेको खनाल बताउनुहुन्छ । तर मतदाता शिक्षा बारेमा काम गरिरहेको निर्वाचन कार्यालयले मतदाता शिक्षा र सही मतदान प्रक्रियाबारेमा जिल्लाका सबै पालिका तहमा नमुना मतदान कार्य गरेको जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले मत बदर हुन नदिन र सही मतदान प्रक्रिया बारेमा जानकारी दिनको लागि ६ वटै तहमा नमुना मतदान गरिएको बताउनुभयो । मल्लले नयाँ मतदाता समेतको लागि घरघरमा गएर मतदाता शिक्षा दिन महिला स्वयम्सेविकालाई खटाइएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले गएको भदौ मसान्तमा सार्वजनिक गरेको देशभरको अन्तिम मतदाता नामावली अनुसार आउँदो मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताको नामावली स्वीकृत गरेको छ ।
source : ujyaalo online