- सिर्जना कण्डेल
कावासोती : नवलपुरको राजमार्गमा चढ्ने र ओराल्ने निश्चित स्थान नतोक्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
बस लगायत अन्य सार्वजनिक सवारी साधनहरुले जहाँ यात्रु भेट्यो त्यही चढाउने र यात्रुले भनेकै स्थानमा बस रोकेर ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको कावासोतीको राजमार्गमानै आफ्नो व्यवसाय संचालन गरिरहेका स्थानीय कुलप्रसाद भुसालले बताए । उनले भने,“राजमार्गमा कहाँ बाट बस चढ्ने र कहाँ ओर्लने भन्ने निश्चित स्थान छैन,त्यसकारण चालकहरुले जहाँपायो त्यही बस रोक्ने भएका कारण दुर्घटनाको जोखिम बढेको छ ।” उनले एउटै लेनमा आफ्नै रफ्तारमा आईरहेका सवारी साधनहरुलाई अगाडी घ्याच्च बस रोकेर यात्रु ओराल्ने र चढाउने गर्दा अबरोध भएको बताए । उनले अगाडीको सवारी संग पछाडीको सवारी ठोक्किने संभावना पनि उत्तिकै रहेको बताए ।
नवलपुरको राजमार्गमा यात्रु ओराल्ने र चढाउने निश्चित स्थान आज सम्म पनि तोकिएको छैन । यसले गर्दा कतिपय अबस्थामा जाम समेत हुने गरेको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले निश्चित स्थान नतोक्दा व्यवसायमा समेत असर पुगेको बताए । उनले भने,“सवारी दुर्घटनाको जोखिम त छँदै छ,जहाँ पायो त्यही बस रोक्दा यसले व्यवसायमा समेत असर पारेको छ । लामो समय बस रोकेर यात्रु कुर्दा यसले व्यवसायमा समेत असर गरेको छ ।” उनले चढ्ने र ओराल्ने स्थान तोक्न अनिवार्य रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रदिप थापाले तोकिएका स्थान भन्दा अन्यत्र सवारी रोक्न नपाईने बताए । उनले भने,“अहिले बाटो बनाउने काम भईरहेकाले पनि समस्या भएको छ , तर पनि यात्रु चढाउँदा र ओराल्दा सावधानी अपनाउनु पर्छ । जहाँ पायो त्यही रोक्न पाईदैन ।” उनले ट्राफिकले छिट्टै चढाउने र ओराल्ने ठाउँको पहिचान गरेर अघि बढ्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रीय महासंघका केन्द्रीय सदस्य गणेश श्रेष्ठले सम्बन्धित निकायले नियम बनाएर लागु गरे आफुहरु त्यसमा सहमत भएको बताए । उनले भने,“नियम बनाएर यो ठाउँमा मात्र रोक भन्नु पर्यो , हामी तयार छौं । अहिले बाटो बिग्रिएको अबस्था पनि छ । ” श्रेष्ठले ट्रफिकले यस बारेमा बृहद् छलफल गरेर नियम बनाए आफुहरु मान्न तयार रहेको बताए ।