कावासोती : “विपिको सरलता कुरै नगर्नुस् , त्यस्तो मान्छे त मैले आज सम्म देखेको छैन । उनलाई महामानव यसै भनिएको हैन नी , हामीले त प्रत्यक्ष विपि संग संगत गरेका छौं । विपिको आदेशमा बन्दुक पनि उठाएका छौं ।” “ देशले अब त्यस्तो नेता पाउन धेरै गा¥हो छ , आज सम्म त्यस्तो नेता पाईएन ।” नवलपुर कावासोती १४ मा बस्दै आएका दुलारी महतोको घरमा सत्यकलमको टिम गत सोमबार पुग्दा उनि एक छिन भक्कानिए, उनको आँखामा आँसु देखिन्थ्यो , उनको शब्दमा विपि प्रति अथाह श्रद्धा थियो । एक छिन पछि उनले आफुलाई सम्हाले र विपि संगको आफ्नो संगतका बारेमा बृतान्त सुनाउन थाले ।


बि.स. २०१५ सालमा आम निर्वाचन घोषणा भएपछि विपि कोईराला चुनाव प्रचार र संगठन निर्माणको क्रममा तत्कालिन नवलपरासी अहिलेको नवलपुर कावासोती वाड नम्बर १४ त्रिभुमी ( त्रिभुवनटार) आएका थिए । त्यही बेला दुलारीले विपिलाई भेटेका थिए । दुलारीले विपिलाई भेटेका मात्र हैनन् , उनि संग तिन दिन संगठन निर्माणमा नवलपुरका बिभिन्न ठाउँमा पुगेका थिए र विपि ३ दिन दुलारीकै घरमा बसेका थिए । दुलार्ी भन्छन्,“श्रीभद्र शर्माले २०१५ सालको जेठ १२ गते विपि आउँदैछन् भन्ने खबर ल्याए , हामी जंगल छिचोलेर डण्डा पुग्यौं । तोकिएको समयमा विपि र श्रीभद्र शर्मा आउनुभयो । हामी जम्मा तिन जना थियौं ।” त्यतीबेला श्रीभद्र शर्मा नवलपरासीमा संगठन विस्तारको सिलसिलामा खटिनुभएको दुलारीले बताए । उनले आफुहरुलाई विपिले ३ घण्टा सम्म डण्डाको एउटा घरमा प्रशिक्षण दिएको बताए ।
पहिले विपि आएर बसेको घर भएको जग्गा देखाउँदै दुलारी महतो , जहाँ अहिले घर छैन , त्याहाँ पहिले भएको घरमा विपि बसेको दुलारीको भनाई छ
विपि संग भेट्दा दुलारी जम्मा १२ बर्ष थिएका थिए । विपिलाई भेटेपछि उनलाई विपि संगै जाउँ जाउँ लाग्यो । दुलारी सम्झन्छन् ,“ विपिको कुरा सुनेपछि रगत तातेर आयो , देशको लागि यहि मान्छेले केहि गर्छ भन्ने लाग्यो , त्यतीबेला म १२ बर्षको भएपनि बुबा र बाजेको संगतले ममा राम्रो राजनितिक चेत थियो ।” दुलारीका बाजे र बुुबा दुबै राणाशाशन बिरुद्धको आन्दोलनमा अप्रत्यक्षरुपमा सहयोगीको भुमिकामा थिए । त्यही कारणले नवलपरासी आउँदा विपिले बस्नका लागि दुलारीको घर छानेका थिए ।
“त्यत्रो नेता भएर पनि हाम्रो घरमा बस्नुभयो , मलाई कान्छा भन्नुहुन्थ्यो , अब कान्छालाई म पढाउँछु भन्नुहुन्थ्यो , हाम्रो घरमा जे पाक्यो त्यही खाने , गुन्द्रीमा एउटा सिरानीको भरमा सुत्ने । त्यती सरल नेता त आज सम्म अनुभव गर्न पाएको छैन ।” दुलारीले भने । ईनारबाट पानी निकालेर विपिले नुहाँएको सम्झदै दुलारी भने,“नुहाएपछि मलाई संगठनको काममा हिँड भन्नुभयो , म पछि लागेर गए ।” त्यतीबेला विपिले अहिलेको साँढ,ट्याङ्गरी र बद्रुवा तिर संगठन बिस्तारका लागि विपिले मान्छे भेट्दै हिँडेको दुलारीले बताए । “म पनि संगै थिए , मलाई विपिले नै हिँड भनेर गएको हुँ , ठाउँ ठाउँ मा उहाँ मान्छे भट्नुहुन्थ्यो , र हामीलाई ( दुलारी सहित अरु २ जना ) लाई देखाएर यिनिहरुलाई होलटाईमर बनाउनु भन्नुहुन्थ्यो ।” महतो को भनाई छ ।
विपि संगको आफ्नो संगत बारे सत्यकलमको टिम संग बताउँदै दुलारी महतो
विपिले नवलपुर आएको दोस्रो दिन कोल्हुवा र तेस्रो दिन सर्दी तिर संगठन बिस्तार र चुनाव प्रचारका लागि काम गरेको दुलारी बताउँछन् । “हाम्रो घरमा बस्दा माछा खुव खानुभयो विपिले , माछा एकदमै मन पराउने , खेतमा कुलोमा मारेको लोकल माछा लिएर काठमाडौं आईज कान्छा भन्नुभाथ्यो , तर तत्काल १५ सालको चुनाव अघि मलाई काठमाडौं जान मिलेन ।” उनले चुनाव जितेर विपि प्रधानमन्त्री भएको खबर ३ दिन पछि पाउँदा संसारकै सबैभन्दा बढी खुशी मिलेको बताए । “ विपि असल मान्छे हो , देशको लागि गर्ने मान्छे , तर खै राजाले किन मन पराएनन् थाहा पाउन सकिएन ।
विपिलाई १७ साल पौष १ गतेको काण्ड पछि जेल हाल्दा दुलारी निकै आक्रोशित भए । उनले गाउँका आफ्ना दमालीका केटाहरु जम्मा गरेर डण्डामा प्रर्दशन पनि गरे । पुलिसको लाठी पनि खाए । “हामीले त आफ्नो ठाउँबाट सक्दो गरेको हो , तर केहि सिप लागेन ।” तत्कालिन समयलाई स्मरण गर्दै दुलारी भन्छन्,“राजाले विपिलाई थुने भन्थे , हामीले त विपि चाहिन्छ राजा चाहिँदैन भनेर त्यतीबेलै भनेको हो ।” बि.स. २०१८ सालमा नेपाली काँग्रेसले घोषणा गरेको शशस्त्र क्रान्ति मा दुलारीले पनि भाग लिए । राईफल बोकेर भरतपुर कव्जा गर्न गए । भरतपुर कव्जा भईसकेको थियो । तर पछि हेटौंडा बाट आएका सेनाले काँग्रेसका धेरै कार्यकर्ता मारिदिएपछि ज्यान जोगाएर नारायणी तरेर नवलपुर छिरेको दुलारी स्मरण गर्छन् ।“काँग्रेसले बन्दुक बोकेर लडाइृमा जाँदैछ भन्ने सुने , आफ्नो नेता ( विपि) को आदेश नमान्ने कुरै भएन , म पनि बन्दुक बोकेर भरतपुर कव्जा गर्न गए ।” दुलारीले सत्यकलम संग भने ।
विपिले खाना खाएको थाल , पानी खाएको अम्खोरा र सुतेको गुन्द्री ( पछि उस्तै स्वरुपमा फेरी बनाईएको ) देखाउँदै दुलारी महतो ।
विपि भारतमा निर्वासित भएपछि श्रीभद्र शर्मा विपिको आदेशमा दुलारीलाई लिन आए । तर दुलारीको आमाले कुनै हालतमा आफ्नो छोरालाई लैजान नदिने बताएपछि दुलारी भारत गएनन् । “बुबाले विपिको संगतमा पठाईदिँदा नराम्रो हुँदैन भनेका थिए , तर आमा मान्दै मान्नु भएन र भारत नजाने कुरा भयो , त्यती बेला भारत गएको भए जिवनले अर्कै मोड लिन्थ्यो होला । ” दुलारी भन्छन् । भारत नगएपछि यतै खेतीपातीमा लागेका दुलारीको भेट विपि संग एकै पटक २१ बर्ष पछि २०३६ सालमा चितवनमा भयो । त्यतीबेला जनमत संग्रहको बेला थियो । नवलपुर बाट दुलारी सहित केही युवालाई विपिले चितवन बोलाएका थिए । “ल केटा हो अब धेरे दुःखको दिन छैन , निलो( बहुदल ) को पक्षमा प्रचार गर र जिताउँ , प्रजातन्त्र छिट्टै आउँछ ।” विपिले त्यती बेला भनेको दुलारी लाई अझैपनि झल्झली याद आउँछ ।
दुलारीले जनमत संग्रहमा हार भएपछि पनि एक पटक काठडमाडौंमा विपिलाई भेटे । त्यतीबेला गिरिजा प्रसाद कोईराला संगै थिए । “चिन्ता गर्नुपर्ने केहि कारण छैन दुलारी , म अस्वस्थ हुँदै गएको छु , म नभएपनि तिमिहरुले उसलाई ( गिरिजा) सबै कुरा भन्नु , बहुदल त यो देशमा आउँछ आउँछ ।” विपिले भनेको कुरा स्मरण गर्दै दुलारी भन्छन्“त्यस्तो पछि सम्म देख्ने (दुरदर्शी) नेता त अब के पाईएला र खै ? ।”
विपिको प्रशिक्षण पाएर उनैको संगतका कारण प्रजातन्त्रका कारण निरन्तर लडेपनि दुलारीले कहिल्यै पद खोजेनन् ,बरु उनले निरन्तर अरुलाई बनाए । “ मलाई पद कहिल्यै चाहिएन , माग्दा पनि मागेन । अरुलाई बन्न सहयोग गरें । एक पटक सुर्यभक्त अधिकारीको पालामा जिल्ला सदस्य भएको थिए , त्यती हो ।” दुलारीले भने ।
दुलारीले पार्टी प्रति आफ्नो गुनासो केहि नरहेको बताए । उनले भने,“गुनासो त केहि छैन , तर प्रजातन्त्रका लागि लडेका मान्छेहरुलाई पार्टी एक पटक पनि नसम्झदा दुःख भने लाग्छ ।”