काठमाडौं : कोरोनाले दुई वर्ष सिंगो विश्वलाई बिथोलेपछि परिस्थिति बिस्तारै अनुकूल बन्दै गएको छ। यसबीच मानव जातिलाई आपसमा जोड्ने सारा मानवीय गतिविधि ठप्प भए। कहालीलाग्दो अवस्थाबाट सामान्यतर्फको यो फिर्तीलाई संगीतमय बनाउने पहलमा नेपालको चर्चित ब्याण्ड नेपथ्य पटक मञ्चमा उत्रने तयारीमा जुटेको छ। नयाँ वर्षको अवसर पारेर झापाको दमकस्थित सरस्वती माविको प्रांगणबाट नेपथ्यले नयाँ यात्रा थालनी गर्न लागेको हो।
यसअघि पनि नेपथ्यले ४ हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याइसकेको छ। खुला आकाशमुनि चौरमा प्रस्तुत हुनुअघि उक्त शहरका अघिल्ला तीनवटा कन्सर्ट सिनेमा हलमा आयोजना गरिएका थिए। पछिल्लो खुला कन्सर्टका निम्ति भने ५ वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश व्यवस्था हुँदै ध्वनी प्रणालीसमेत त्यहाँ पुर्याइएको थियो।
‘संगीतप्रेमी दर्शकका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ।’
भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को प्रमुख केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए। दमकमा नेपथ्यको यो पाँचौं प्रस्तुति हुनेछ।

नेपथ्यको पछिल्लो कन्सर्ट २०७६ फागुनमा काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। एउटा गाउँले विद्यालयको पुनःनिर्माणका लागि आयोजना गरिएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिति थियो। उक्त कन्सर्ट भएको २ वर्षपछि नेपथ्यले आफ्नो नयाँ यात्रा पूर्वबाट शुरु गर्न लागेको हो।
‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाशउन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ खुल्दै गए।’
त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन्। ‘वैज्ञानिकहरूको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरसविरुद्ध भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अब विस्तारै हामी सबैले आ–आफ्ना कर्महरूबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ।’
नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई बिसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ। उनका अनुसार कन्सर्टमा सदाझैँ नेपथ्यका सर्वकालीन हिट गीतहरू प्रस्तुत गर्नुका साथै केही नयाँ प्रस्तुतिको तयारी पनि अघि बढिरहेको छ।
दमकमा यो कन्सर्ट सफल पार्न स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ। ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो।

‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारी गरेका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन्। यो कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन्।
सधैँझैँ तोकिएकै अवधिमा शुरु हुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठीक पौने ५ बजे मैदानका ढोका खोलिनेछन्। स्थानीय आयोजकका अनुसार टिकटको मूल्य १ हजार रुपैयाँ राखिएको छ। www.thuprai.com/nepathya मार्फत कार्यक्रमकाे टिकट अनलाइनबाट पनि लिन सकिनेछ।
source:ujyaalo online