विश्व अहिले कोरोना भाईरसको महामारी बाट आक्रान्त छ । विश्वका १ सय ७७ भन्दा बढी देशका नागरिकहरु अहिले कोरोनाको संक्रमणमा छन् । यस्तो बेलामा हरेक देशले अहिले आफ्ना नागरिकहरुको सुरक्षाका लागि बिभिन्न उपायहरु अवलम्बन गरिरहेका छन् । यसै सन्र्दभमा हाम्रो देश नेपालले पनि आईतबार देखि लागु हुने गरि मुलुकमा अत्यावश्यक बाहेकका अरु सेवाहरु बन्द गरेको छ । सरकारले यसको नियन्त्रणका लागि अरु प्रभावकारी कदम चाल्ने तयारी गरिरहेको छ । प्रधानमन्त्रीले चैत्र ७ गते गरेको संबोधनमा यि सबै कुराहरु उल्लेख भएपनि नागरिकहरु भने कस्ता सेवा बन्द हुने कस्ता सेवा खुल्ने , के गर्न हुने के गर्न नहुने भन्ने जस्ता कुराहरुमा अलमलमा छन् । नवलपुर जिल्लाको सन्र्दभमा पनि नागरिकहरुमा यस्तो अन्योलता देखियो । नवलपुरमा कोरोना रोकथामका लागि कस्तो तयारी छ ? सरकारी निर्देशनको अबस्था नवलपुरमा कस्तो छ ? यहाको स्थानीय प्रशासनले यसबारेमा के गरिरहेको छ र उसका योजनाहरु के के छन् भन्ने सन्र्दभमा सत्यकलम डिजिटल पत्रिकाले नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे संग कुराकानी गरेको छ । प्रस्तुत छ नवलपुरका प्रमुख जिल्ला अधिकारी घिमिरे संग सत्यकलम डिजिटल पत्रीकाका लागि रमेश बस्ताकोटीले गरेको कुराकानीको सम्पादित अंश :


प्रश्न : आईतबार देखि अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गर्ने भन्ने सरकारी घोषणा छ , सर्वसाधारण अलमलमा छन् अत्यावश्यक सेवाभित्र के के पर्दछन् ?
सम्माननीय प्रधानमन्त्री ज्यूले आफ्नो घोषणा मार्फत् आजदेखी अत्यावश्यक सेवा बाहेक अरु बन्द गर्ने भन्नुभएको छ । अत्यावश्यक सेवा भनेको चाँही नेपाल सरकारले मिति २०७६ साल असोज २६ गते राजपत्रमा प्रकाशन गरेको सेवाहरु हुन् । यसमा बिद्युत , खानेपानी , आन्तरिक सुरक्षा , बैंक , खाद्यान्नका सेवाहरु ,फोहरमैला संकलन , स्वास्थ्य सेवा , डाक , हुलाक ,टेलिफोन ,पर्यटन , आवास , होटल ,रेष्टुरेण्ट , पेटोलियम पदार्थ , एलपी ग्यासको ढुवानी पैठारी , विमा सेवा , औषधी निर्माण तथा विक्रिवितरण , एम्वुलेन्स लगायत १९ वटा सेवाहरु पर्दछन् । यि बाहेकका सेवा चैत्र २१ गते सम्म बन्द हुन्छ । कसैलाई केहि कुरा सोध्न जान्न मन लागेमा सरकारी कर्मचारी , जनप्रतिनिधि , प्रशाशन कार्यालय , नजिकको प्रहरी कार्यालयमा सोध्न सक्नुहुन्छ ।
प्रश्न कतिपय अबस्थामा सरकारी निर्देशनको अवज्ञा भइृरहेको छ , यहाहरुको अनुगमन गर्ने संयन्त्र कस्तो छ ? यसको उलंघन गर्नेलाई कस्तो कारवाही हुन्छ ?
उत्तर हो , नवलपुरमा जिल्लामा पनि कहि कतै सरकारी निर्देशनको उलंघन भएको छ । हामीले त्यसलाई तत्काल सचेत गराएर निर्देशन पालना गर्न भनेका छौं । हामीले प्रशाशकीय अधिकृत ज्यूको नेतृत्वमा अनुगमन समिति बनाएर टिम खटाएका छौं । धेरै जसो अबस्थामा म आफै पनि सक्रिय रुपमा अनुगमनमा गएको छु । सरकारी नियमको निर्देशनको सबैले पालना गर्ने पर्छ । यो सर्वसाधारणकै हितका लागि सरकारले दिएको निर्देशन हो । यसका लागि सबै सचेत हुन आबश्यक छ । यदी कसैले मान्दैन , टेर्देन भने उसलाई कानुन बमोजिम कारवाही हुन्छ ।
प्रश्न अत्यावश्यक सेवा संचालन गर्छौ भन्दा पनि भिड चाही देखियो , खासगरि बैंकहरुमा यस्तो भिड देखिन्छ ? यसको व्यवस्थापनका लागि के सोच्नुभाछ ?
उत्तर हो , कुनै कुनै बैंकहरुमा त्यो समस्या देखेका छौं , हामीले बैंक व्यवस्थापन लाई भिड कम गर्ने गरि काम गर्न निर्देशन दिएका छौं । तत्काल प्रहरी पठाएर भिड कम गर्ने सोचमा पनि हामी पुगेका छौं । बैंकहरुलाई पनि काउण्टर थपेर , कर्मचारी थप गरेर पनि भिड नहुने गरि सेवा दिन भनेका छौं । सरकारको अहिलेको सबै तयारी भिड कम गर्न र सर्वसाधारणलाइ भाईरसबाट जोगाउनका लागि हो । तसर्थ अत्यावश्यक सेवा भन्दैमा भिड हुनु राम्रो होईन । हामी यसलाइ तत्काल व्यवस्थापन गछौं । भोलि देखिनै बैंकहरुमा भिड कम हुनेछ र नागरिकका काम पनि हुनेछन् ।
प्रश्न : सार्वजनीक सवारीका हकमा के हुन्छ ? निजि सवारी हरु लामो दुरीमा जान पाउछन्की पाउदैनन् ?
अहिले तत्कालका लागि २५० किमि भन्दा बढी गुड्ने लामो दुरीका सार्वजनीक यात्रुबाहक सवारीलाई ग्ड्नका लागि प्रतिबन्ध लगाउने भनिएको छ । त्यसै अनुसार हुन्छ । यो भन्दैमा नवलपुरबाट काठमाडौ यात्रु लिएर जाने आउने काम निर्वाध गर्न पाईन्छ भन्ने होईन हामीले भाईरस संक्रमण नहोस् भनेर यो भनेका हौं त्यसकारण यस्ता सवारीलाई पनि तत्कालको आबश्यकतालाई ध्यानमा राखेर रोकिन्छ । निजि सवारीहरु निर्वाध हिड्न पाउछन् ।
प्रश्न नवलपुर संग जोडिएको भारतिय नाकामा कस्तो अबस्था छ ? त्याहा यहाहरुले कस्तो तयारी गर्नुभाछ ?
नवलपुरमा एउटा मात्र नाका त्रिवेणी नाका हो । त्यो नाकामा हामीले अत्यन्त कडा गरेका छौं । भारतबाट नेपाल पस्ने मानिसहरलाइृ सबै चेकजाच गरेर मात्र प्रवेश दिएका छौं । त्यसकारण त्याहा सबै प्रकारको सर्तकता अपनाएका छौं । अझै उच्च सर्तकताका साथ काम गर्देछौं । सबै प्रकारका निकासी पैठारीलाई पनि अत्यन्तै सर्तकताका साथ हामीले काम गरिरहेका छौं ।
प्रश्न : कोरोना नियन्त्रणका लागि जिल्लामा आबश्यक जनशक्तीको उपलब्धता कस्तो छ ? उपचारात्मक तयारी कस्तो छ ?
उत्तर हामीले जिल्लामा भएका जनशक्ती सबै परिचालन गरेका छौं । सबैलाइ साबधानी अपनाउन भनेका छौं । जनशक्ती र प्रविधिको हिसावले सबै कुरा प्रयाप्त छैन तर पनि हामीले यसका लागि छिमेकी जिल्ला चितवन , रुपन्देहि संग समन्न्वय गरेका छौं । नागरिकहरु आत्तिनुपर्ने अबस्था छैन । यदी कोहि कसैलाइ कोरोनाको शंका मात्र लागेमा हामी तत्काल सबै खाले व्यवस्थापन गर्न सक्छौं । अरु कुरा छिटो भन्दा छिटो प्रविधि देखि सबै कुराको व्यवस्थापनमा हामी लागेका छौं । यसमा स्थानीय तहरुले पनि राम्रो सहयोग गर्नुभाछ । उहाँहरु प्नियसमा लाग्नुभाछ । सम्पुर्ण जिल्लाबासी एक भएर कोरोनाको रोकथामका लागि लागेका छौं । अन्त्यमा , म जिल्ला वासीलाई सर्तक हुन , सकभर घरभित्रनै बस्न , भिडमा नजान , भिडभाड कम गर्न र सरकारी निर्देशनहरु पलना गर्न आग्रह गर्दछु । कत्तिपनि नआत्तिन र सचेत हुन मेरो आग्रह छ । सरकारी निर्देशन पालना गरेमात्र पनि कोरोना रोकथामका लागि धेरै गर्न सकिन्छ ।