- आशिष ढकाल
विकासको बारेमा यसका ज्ञाता र विद्वान वर्गले स्पष्ट पार्नुहोला तर हाम्रा गाउँघरे विकास भने सबैले बुझेकै,देखेकै छन् ।अहिले विकास भनेको त वन फाँडेर बाटो र डाँडो काटेर बनाएको पाटो मात्रै पो हुनथाल्यो त ! जनताको जीवनस्तर सुधारका कुरा कता गए खै ?
संघीयतापछिको स्थानीय सरकारले बाटो बाहेक क्यैलाई जो विकास मानेन । जनताले महशुस गर्ने सर्व पक्षिय विकास कहिले हुने हो खै ? स्थानीय सरकारका कोरा कर्मचारी र खोटी जनप्रतिनिधिले विकासको आयामनै बदलिदिए । विकासका समग्र सूचकमा बेप्रवाह नजरअंदाज गरे ।भौतिक निर्माणलाई मात्र विकासको सार मानेर यसको अन्तरबस्तु उपर निर्मम प्रहार गरे ।
जबसम्म विकासका खातिर मानविय पक्षले स्थान पाउँदैन तबसम्म विकासले सार्थकता पनि पाउँदैन । यस्तो विकास मरूभुमीको मृगतृष्णा शिवाय केहि बन्दैन । बरू मरुभुमीमा वृक्षारोपण गरेर हराभरा बनाउनु पनि त विकास मानिन्छ । होला,कतै रहरलाग्दो वन–जङ्गल फाडेर बाटो बनाउनु पनि विकास । विकासलाई ब्याख्या गर्ने शैली र यसका प्रकृया पनि अलग होलान् । यसलाई बुझ्ने र आत्मसात गर्ने तरिका मानिसको ज्ञानको स्तरअनुसार फरक—फरक हुन्छ ।भएको वन–जङ्गल फाँडेर सडक बनाउनु कसैको नजरमा वन विनास मानिन्छ, फेरी त्यही काम कसैको नजरमा बाटाघाटा विकास भए भन्ने पनि हुन्छ । सन्दर्भ हो विना गहिरो अध्ययन, विना वातावरणिय प्रभाव मुल्याङकन धमाधम भएको हरियो डाँडाकाँडा काटेर डोजर लगाएर बाटो बनाउने योजना ! हुन त भौतिक पूर्वाधार मन्त्रालयको तथ्याङ्कतर्फ आखाँ डुलाउने हो भने नेपालमा बर्षेनी हजारौ किलोमिटर बाटो थप भएका छन । तर के ति थप भएका सम्पूर्ण बाटा–घाटाहरुलाई विकासको नाम दिन मिल्ला ? अमुल्य जडिवुटियुक्त हरिया पहाडका डाँडामा डोजरका नङ्ग्राले माटो फालेर खन्दैमा विकास भन्ने ?
विश्वका विकसित मुलुकहरुको नजिरहरु हेर्ने हो भने युरोपतिर हरिया रुख जङ्गल फडानी गरेर बाटो बनाउने स्वीकृति त्यहाँको सरकारले भरसक दिदैन र त्यस्तो हरियो जङ्गल फडानी गर्नुलाई उनीहरुको तिर विनास मानिन्छ । बाटो–घाटो र अन्य विकास यदि त्यस्तो ठाँउमा गर्न पर्ने भएमा पहिला गहिरो वातावरणिय प्रभाब मुल्याङ्कन गरिन्छ अनि मात्र कम हानी हुने गरि भौतिक संरचना बनाउन अनुमति दिइन्छ । तर हाम्रोमा स्थानीय सरकारदेखि केन्द्र सरकारद्वारा विना कुनै मापदण्ड वन–जङ्गल फाडेर भौतिक संरचना बनाइन्छ र त्यसलाई विकासको उपमा दिई सस्तो चुनाबी प्रचार बनाई भाषणबाजी र ताली गुन्जाइन्छ । तर के ति साचीकै विकास हुन् त ? विकास त दिगो होस् वातावरणलाई संरक्षण गर्दै वातावरणको कम भन्दा कम हानी हुनेगरि गरियोस, अनि त्यस्तो विकासले पछि विनास पनि त निम्त्याउँदैन । हामी कहाँ त वैशाखको महिनामा हरियो डाँडामा लगेर डोजर चलाएर बाटो खन्ने अनि असारमा त्यहि बाटो पहिरो खसेर तलका बस्ति पुरिने अनि जिउधनको ठुलो क्षति हुने गर्दछ ।अब साच्चीकै विकासको मोडल बारे हामी गम्भिर भएर सोच्ने बेला भएको छ ।
हामीले जुन चस्मा लगाएर विकासलाई बुझ्छौ नि कतै हाम्रो हेर्नी चस्मा नै दोषी त छैन ? अब हामीले जङ्गल फाडेर बनाइएका भौतिक पक्षलाई विकास होइन विनास भनेर बुझ्नुपर्छ, हामीले गरेको विकास दिगो, वातावरणमैत्री भएमा मात्र त्यो विकास हुन्छ । त्यसर्थ विकासलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ, विभिन्न स्थानीय सरकारका प्रमुखहरू पनि डाँडामा लगेर डोजर चलाएरै मात्र विकास हुन्छ भन्ने मानसिकताबाट माथी उठ्न पर्छ ।
बाटा–घाटा, पुल सार्वजनिक संरचना बनाउनु पुर्व त्यस स्थानमा रहेको प्राकृतिक वनस्पतिहरुको वातावरणिय प्रभाव मुल्याङ्कन हुनु पर्यो अनि त्यसका नतिजाहरुको आधारमा मात्र ठाँउ छनौट गर्नु पर्छ । अहिलेकै जस्तै तरिकाबाट प्राकृतिक सम्पदा वन–जङ्गल मासेर भौतिक संरचना, बाटा–घाटा बन्दै जाने हो भने नेपालमा वर्षैपिच्छे पहिरोको घटना अझ बढ्दै जानेछ । त्यसैले सरोकारवाला निकायले समेत बेलैमा विकासलाई हेर्ने चस्माको लेन्स परिवर्तन गर्न जरुरी छ ।