काठमाडौं : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी अब चल्न पाउने भएका छन् । यस अघि लगाइएको जोर बिजोर प्रणाली हटाइएसँगै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने भएको हो ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।
सार्वजनिक सवारी साधनका हकमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । साथै हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकामा साँझ ६ बजेसम्म स्वास्थ्य मापदण्ड र दूरी कायम गरेर सबै प्रकारका पसल खुला गर्न पाइने निर्णय सो बैठकले गरेको छ ।
निषेधाज्ञा खुकुलो भएपनि सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रमलाई भने रोक लगाइएको छ ।