काली रिसाइन् भने
-गोविन्दराज विनोदी
काली हुन् हिमशैलकी प्रिय सुता मुक्तिप्रदा गण्डकी
काली कल्मष नाशिनी, सकलकी कल्याणकारी नदी नास्नानिम्ति अनेक कंश कलिका जोकृष्ण जन्माउँछिन्
काली हुन् जननी सदैव महिमा जो सृष्टिको गाउँछिन्
काली प्राकृत शान्त पुण्यसलिला आनन्दकी धार हुन्
शालग्राम-कला सुरम्य सृजना गर्ने कलाकार हुन्
मान्छेको मन धन्य हुन्छ जसको संस्पर्शले कोमल
स्वर्गङ्गा जलझैँ पवित्र छ सदा काली नदीको जल
पारिन् नित्य हराभरा प्रिय धरा बग्दै जहाँ यी घुमिन्
फैल्यो निर्मलता सहर्ष यिनले जे स्नेह पोखी चुमिन्
टेक्दामा यिनले प्रबोधित भयो श्रद्धा रुरु क्षेत्रको
केलादी पनि धर्म-भूषित भयो चुम्दा यिनैले अहो !
आइन् भेट्न भनेर शङ्कर-सृजा गङ्गा त्रिशूलीसित
राम्रो सङ्गम देवघाट हुन गो सद्धर्म सम्पोषित
बोकी प्राञ्जल मुक्तिनाथ गरिमा पुग्दै त्रिवेणीतक
आस्था भै जनको निरन्तर बगिन् स्वच्छन्दतापूर्वक
चाहन्छिन् जनको नयाँ प्रगतिले आकाश छोओस् भनी
चाहन्छिन् कृषि, वैद्युती प्रविधिका निर्माणलाई पनि
बाटो नै यदि मोड्न खोज्दछ भने मान्छे बनी बैगुनी
कालीको मन शान्त हुन्न कहिल्यै षड्यन्त्र यस्तो बुनी
आफ्ना संस्कृति, धर्मका प्रति सधैँ सद्भाव हामी भरौँ
कालीमा कटु राजनीति नगरौँ, विश्वास आस्था छरौँ
होला उन्नति, भै स्वतन्त्र यिनले माटो भिजाइन् भने
होला घोर अनिष्ट यो मुलुकमा काली रिसाइन् भने