काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप भएको छ । कोरोना भाइरस संक्रमणको दरमा खासै कमी नआएको भन्दै मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपेको हो ।
काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालयले बैशाख १६ देखि २२ सम्म पहिलो पटक, बैशाख २२ देखि २९ सम्म दोस्रो पटक, वैशाख २९ देखि जेठ १३ सम्म तेस्रो पटक निषेधाज्ञाको आदेश जारी गरेको समय सकिन लाग्दा संक्रमणको दरमा कमी नआएको भन्दै एक साताको निषेधाज्ञा थप गरेको छ ।
थपिएको निषेधाज्ञा अवधीमा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसलहरु खोल्न पाइनेछ तर किराना पसल, डिपार्टमेन्टल स्टोर भने बन्द हुनेछन् । सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि पहिलेको भन्दा कडाइ गरिने भएको छ । ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस अघि नरोकिएको निर्माण क्षेत्रका कामलाई पनि एक साताका लागि रोक लगाउने निर्णय आजको बैठकले गरेको छ ।
आजको बैठकले हालसम्म प्रशासन र अन्य विभिन्न निकायहरुबाट जारी गरिएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै विवाहको कार्यक्रममा ७ जना मात्र जम्मा हुन पाउने निर्णय गरिएको छ ।
यससँगै अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई हालै जारी कोभिड–१९ अध्यादेशअनुसार कारबाही गर्ने पनि निर्णय भएको छ ।अध्यादेशमा व्यवस्था भएअनुसार अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउने दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने छ । हिड्ने व्यक्तिहरुलाई पनि मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १ सय रुपैयाँ जरिवाना गर्न सक्ने साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा काम विना घरबाट निस्किनेलाई २ सय रुपैयाँ जरिवाना गर्न सक्ने छ ।
हेर्नुहोस् काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश :


