काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना व्यक्तिहरु कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
तीमध्ये हाल सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
जिल्लागत विवरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सुर्खेतमा २८८, चितवनमा २८७, कास्कीमा २८४, कञ्चनपुरमा २२३, सुनसरीमा १९७, काभ्रेपलाञ्चोकमा १६८, मकवानपुरमा १५६, दाङमा १४४, धनुषामा १४१, पर्सामा १३८, गुल्मीमा ११७ र पाल्पामा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस वीचमा ९ वर्ष मुनिका १९२ बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।