देशभर चिसो ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तनले मानिसहरुको दैनीकी समेत प्रभावित भएको छ । देशका हिमाली भेग , उच्च पहाडी भेगमा हिउँ परिरहेको छ भने तराईमा शितलहर चलिरहेको छ । चिसोका कारण मानिसहरुको जिवन कष्टकर बनिरहेको छ । चिसो मौषमका कारण सबैभन्दा बढि बालबालिका र वृद्ध÷वृद्धा प्रभावित हुने गर्दछन् । उनीहरुमा यो समयमा निमोनियाको जोखिम उच्च हुन्छ । खानपानमा ख्याल पुराउन नसक्दा अन्य विभिन्न खाले स्वास्थ्य समस्याहरु पनि आईपर्दछन् ।
विगतका वर्षहरुलाई हेर्ने हो भने जाडोले कठ्याग्रिएर मानिसहरुको मृत्यु समेत भएको पाईन्छ । मृत्यु हुनेको संख्या एकिन नभए पनि विगत वर्षहरुमा चिसोकै कारण केही मानिसहरुको मृत्यु भएको छ । यद्धपी एकिन तथ्याङ्क भने खासै पाईदैन । खास गरि तराई र पहाडी यी दुवै क्षेत्र अहिले चिसोले प्रभावित बनिरहेको छ । थोरै ख्याल पर्याउन नसक्दा जो कोही पनि बिरामी बन्नसक्छ त्यसैले समयमै सचेतना अपनाउन जरुरी छ । हिटररआगो ताप्ने, उमालेर पानी पीउने, न्यानो लुगा लगाउने, आफुलाई शारीरिक रुपमा सक्रिय बनाई राख्ने चिसोबाट जोगिने घरेलु उपायहरु हुन ।
सामान्यतया युवा उमेरका मानिसहरुले यस्ता क्रियाकलापहरु गर्दा जाडोको समस्याबाट मुक्ति पाउन सकिन्छ । तर बालबालिका र वृद्धवृद्धाहरुको लागि भने अझ बढिनै ख्याल गर्नु पर्ने हुनसक्छ । उनीहरु शारीरिक रुपमा कमजोर हुन्छन् । आफ्ना कुराहरु व्यक्त गर्न सक्दैनन् । उनीहरुको हेरचाह परिवारकै सदस्यहरुले गर्नु पर्ने हुन सक्छ । यदि थोरै मात्र हेलचक्राई गर्यौँ भने पनि उनीहरुको जीवन जोखिममा पर्न सक्छ त्यसैले उनीहरुलाई चिसोबाट जोगाउन परिवारले अत्यन्त ख्याल पुर्याउनु पर्ने हुन्छ । नेपालमा अझैपनि धेरै मानिसहरु गरीबिकोे रेखामुनी छन् जसले न्यानो लुगा लगाउनै पाएका छैनन् ।
सडक मज्दुर, सडक बालबालिका, आर्थिक अवस्था कमजोर भएका मानिसहरुको ठूलो संख्या न्यानो लुगा लगाउनबाट बन्चित छन् । उनीहरु जाडोले सबैभन्दा बढि प्रभावित हुन्छन् । यस समयमा उनीहरुलाई सरकारको सहयोग आवश्यकता पर्दछ । जहाँ–जहाँ त्यस्ता जोखिमयुक्त मानिसहरु रहेका छन् त्यहाँ सरकारले तुरुन्त न्यानो कपडा सहित पोषणयुक्त खानाको व्यवस्था गरिनु पर्दछ । त्यसले सम्भावित दुर्घटना हुनबाट बचाउँछ । ति मानिसहरुलाई सरकार भएको अनुभूति पनि यहि समयमा गर्नेछन् । सरकारले समयमै ध्यान पुर्याओस । त्यसको लागि सबैभन्दा बढि प्रभावकारी स्थानीय सरकार हुन्छ ।
आफ्ना नागरिकको अवस्था कस्तो छ ? कसलाई के आवश्यकता छ भन्ने कुरा स्थानीय सरकारलाई राम्रोसँग थाहा हुन्छ । मानिसहरुको अवस्था बारे स्थानीय सरकारले नजिकबाट नियाल्ने भएकोले पनि यस्तो समयमा स्थानीय सरकार गम्भीर बनेर नागरिकको सुरक्षाको लागि लाग्नु पर्ने हुन्छ । परिवर्तित अवस्थामा जाडोकै कारण मर्नु पर्यो, अत्यन्त कष्ट भोग्नु पर्यो । कष्टको समयमा पनि सरकारको साथ भएन भन्ने ढङ्गको गुनासो कहिँ कतैबाट पनि आउनु हुँदैन । यदि त्यस्तो परिस्थिति बन्यो भने लोकतान्त्रिक गणतान्त्रिक सरकार भएको अनुभूति हुनेछैन । विगतको समयमा हेर्यौँ भने सरकारले खासै ध्यान दिएको पाइदैन । सरकार जहिले पनि घट्ना भईसके पछि राहातको पोका बोकेर पीडितको घरमा पुग्ने गर्छ । बाढि पहिरो जाँदा, भूकम्प जाँदा होस वा अन्य विपत्ति पर्दा उसले राहात बोकेर जाने गर्छ । तर घट्ना हुनै नदिन र घट्नाबाट हुने क्षति कम गराउन तर्फ ऊ लाग्दैन । यी विगतका अनुभव हुन् ।
अहिले पनि सरकारले पूर्व तयारी गरेको खासै देखिदैन । सम्भावित दुर्घटना न्यूनिकरण तर्फ ध्यान दिएकै छैन । यसको अर्थ के हो भने सरकार अझै पनि जनमूखि बन्न सकेको छैन । पीडित मूखि बन्न सकेको छैन । सरकार जनताप्रति जवाफदेही हुने गरि लागेको पाईदैन । लागेको हुन्थ्यो भने हिउँ पर्न सक्ने, जाडो बढ्ने सम्भावना मौषम विज्ञान विभागले पहिल्यै जनाएको थियो । तर त्यस्ता प्रभावित ठाउँहरु, व्यक्तिहरु समक्ष सरकार अहिलेसम्म पनि पुग्न सकेको छैन ।
सरकारले चाह्यो भने अझै पनि गर्न सक्छ । त्यस्ता आर्थिक अवस्था कमजोर भएका जो न्यानो कपडा किनेर लगाउन समेत सक्दैनन् त्यस्ता घर परिवार तथा मानिसहरु समक्ष सरकार छिट्टै पुगोस र न्यानो कपडा दिन ढिलाई नगरोस, न्यानो कपडा वितरणसँगै चिसोबाट बच्नका निम्ती अपनाउनु पर्ने उपायहरु बारे पनि जानकारी गराओस । आफ्ना नागरिकहरु प््रति सरकार जिम्मेवार बनोस् । चिसोबाट आफु पनि जोगीउँ र अरुलाई पनी जोगाऔं ।