जुन ब्यबस्थाले मलाई गुलाम बन्न सिकायाे
त्यही ब्यबस्थाकाे समर्थनम मैले किन लेख्ने ?
मेराे याेग्यता,क्षमता,जवानी र जीवन लिलाम गर्ने याे ब्यबस्था यसकाे बचाउ गर्न मैले किन लेख्ने ?
एक हुल लक्कडभग्गा मेराे स्वाभिमानकाे हुर्मत लिन रात दिन छेक्कर काटेर मलाई ढुकी रहेछन्,
तिनका आसेपासेकाे जमातमा निरीह छ मेराे सामर्थ्य
जसले मलाई जीउँदै मराएकाे छ, जीन्दगीबाट हराएकाे छ उसैकाे समर्थन गर्न मैले किन लेख्ने ?
मेराे पुरै जीवन सुण्ड मुण्डलाई समर्पित गर्दा गर्दै, म हरिकंगाल भएकाे छु
पुरै रित्तिएकाे छु
तीन महिनाकाे बेहुली र दिन रात याैन शाेषणमा परेकाे युवती जस्तो
रक्तअल्पताले ग्रसित भएकाे छु
उनै बेइमानकाे बचाउ गर्न मैले किन लेख्ने ?
ब्यक्ति जाओस्, ब्यबस्था जाओस् मलाई केही स्वाद छैन
यसले मलाई के नै दियाे र ?
फगत पीडा र बेदना बाहेक !
लाखौं युवालाई गुलाम बनाउने दिशाहिन,बेरोजगार र स्वार्थकाे पुतली बनाउने,
तिम्राे ब्यबस्था राख या फाल यसलाई जाेगाउन मैले किन कलम चलाउने ?
- कावासोती , नवलपरासी