चितवन, असार २७-
चितवनका पत्रकार वसन्त पराजुलीको कुमाता कथा सङ्ग्रहको दोस्रो संस्करण बजारमा आएको छ ।
फागुन २६ गते विमोचन भएको महिलाको यौन मनोविज्ञानमा आधारित कुमाता कथासग्रहको असारमा दोस्रो संस्करण छापिएको हो । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो । ‘कुमाता’मा सङ्ग्रहित १० कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ बढी हुँदा छिट्टै दोस्रो संस्करण छाप्नु परेको प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए ।
गरिबी, वैदेशिक रोजगारी, प्रेम,विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको साहित्यकार तथा समालोचक डा. एकनारायण पौडेलले बताए । ‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । यसमा नारी समस्याका अतिरिक्त समसामयिक विविध विषयक्षेत्रका समस्या उजागर गरिएको छ’, डा. पौडेलले भने, ‘कथाकार पत्रकार पनि भएका नाताले यसमा पत्रकारिताक्षेत्रका र त्यसमा पनि इमान्दार पत्रकारका समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर सार्वनिक गरिएको छ । द्वन्द्वमा सहभागी माओवादी कार्यकर्ताको जीवनचर्या, निकुञ्जक्षेत्रवरपरका सोझासाझा गाउँलेहरुले भोग्नपरेका समस्या, दलितसमस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञानलगायत विविध विषय समेटिएका कुमाताका कथा विषयका हिसाबले रोचक छन् ।’
लेखक पराजुली भने कथासंग्रह यति छिट्टै दोस्रो संस्करण आउने अवस्था आउनुमा पाठकहरुले आफू प्रति अपार माया र स्नेह दिएको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । कथामा समेटिएका विषयवस्तुहरुले पाठकको मन छोएकाले पनि यति छिटो दोस्रो संस्करण आउने अवस्था भएको उनको भनाइ छ । ‘कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुुुस गर्छन्’, पराजुलीले भने ।